काठमाडौ । नेपाल ख्रिष्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज (सिबी) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ । उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको छ ।ललितपुरको गोदावरीमा बस्दै आएका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिनको माग गर्दै भदौ ३ गते उजुरी परेको थियो । ‘महानअभियान’ नामका पत्रिका दर्ता गर्ने बेला उनले स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरीकर्ताको आरोप छ ।
उक्त उजुरी परेपछि छानबिन अगाडि बढाएको ढाँट्दै विभागले त्रिविबाट सबै डकुमेण्ट झिकाएको हो । समाजशास्त्रमा स्नातक गरेको भनी ढाँटी आएका उनको भण्डाफोर भएको छ । त्रिविले उनको रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको प्रष्ट्याएको छ । भदौ २७ गते त्रिविले पठाएको पत्रमा भनिएको छ, ‘चरीबहादुर गहतराज रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको ।’
पशुपति बहुमुखी क्याम्पसबाट वि.सं २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभागले उनको नक्कली प्रमाणपत्रबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराइसकेको स्रोत बताउँछ । यता, मन्त्रालयले उनलाई कारबाहीका लागि गृह मन्त्रालय र सिआइबीलाई पत्र लेख्ने तयारी गरेको स्रोतको भनाइ छ । ‘ख्रिष्टियन धार्मिक समुदायको मसिहा ठान्ने संस्थाका जिम्मेवार पदकै व्यक्तिको सर्टिफिकेट नक्कली छ, के भन्ने ? यसले धार्मिक समुदायमाथि नै चोट पुगेको छ । धेरै जानेबुझेका, वास्तविक अध्ययन गर्नेभन्दा आफूलाई विद्वान् तथा शिक्षित भन्न रुचाउँछन् । प्रमाणपत्र भने कीर्ते । ख्रिष्टियन समुदायमा यस्तो ठूलै जमात छ’, स्रोतले भन्यो । विभागका एक अधिकृतका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्रिका दर्ता गरी विभागमा सूचीकृत गर्दा पेश गरेको प्रमाणपत्र नक्कली फेला परेको हो । उक्त प्रमाणपत्र प्रयोग गरी गहतराजले केही वर्ष पत्रिका सञ्चालन गरेको पाइएको भन्दै गहतराजमाथि विभागको कानुन शाखाले कारबाही थालेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १५ : १८
लेखकबाट थप