टाटा ग्रुपले भारतमा नयाँ आइफोन एसेम्ब्ली प्लान्ट बनाउने

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १२ : १५
टाटा ग्रुपले भारतमा नयाँ आइफोन एसेम्ब्ली प्लान्ट बनाउने

काठमाडौं। टाटा ग्रुपले भारतमा देशकै सबैभन्दा ठूलो आइफोन एसेम्ब्ली प्लान्ट बनाउने भएको छ।भारतीय सञ्चार माध्यमहरूका अनुसार टाटा ग्रुपले भारतको तमिल नाडुस्थित होसुरमा नयाँ उत्पादन प्लान्ट बनाउने भएको हो।

यस आइफोन फ्याक्ट्रीमा २० एसेम्ब्ली लाइन हुने अनुमान छ। यहाँबाट दुई वर्षको अवधिमा ५० हजारभन्दा बढी मानिसले रोजगारी समेत प्राप्त गर्ने अनुमान विभिन्न रिपोर्टमा उल्लेख छ। नयाँ प्लान्ट अबको १२ देखि १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य टाटाले राखेको छ।

टाटा ग्रुपले गत अक्टोबरमा मात्रै बैंगलोरमा रहेको विस्ट्रो एसेम्ब्ली प्लान्ट १२५ मिलियन अमेरिकी डलरमा प्राप्ति गरेको थियो। जससँगै भारतको पहिलो घरेलु आइफोन निर्माता कम्पनी टाटा ग्रुप बनेको थियो। अब भने टाटा ग्रुप देशकै सबैभन्दा ठूलो आइफोन एसेम्ब्ली प्लान्ट निर्माण गर्ने लक्ष्यमा छ।

यसबाहेक टाटाले देशभर एप्पलका उत्पादनहरू खरिद(बिक्री एवम् मर्मतमा केन्द्रित रहने एक सयवटा रिटेल आउटलेट समेत सञ्चालन गर्ने योजना बनाएको छ।

एप्पलले पछिल्लो समय भारतबाट आफ्नो उत्पादन बढाइरहेको छ। हालै सार्वजनिक आइफोन १५ पनि भारतबाटै उत्पादन भई अन्य अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदैछन्। चीनमा रहेको फक्सकन कम्पनीले भारतमा यसैको लागि पनि ठूलो मात्रामा लगानी गरिरहेको छ।

स्थानीय बजारबाट उत्पादन हुने हुँदा भारतमा एप्पलका उत्पादनहरूको मूल्य समेत घट्ने अनुमान छ। टाटा इलेक्ट्रोनिक्सले लामो समयदेखि आइफोन उत्पादनमा विशेषतस् चासो देखाएको छ।

प्रतिक्रिया दिनुहोस