वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ : प्रधानन्यायाधीश

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १५ : २७
वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ : प्रधानन्यायाधीश

 गोरखा । गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन बनेसँगै यसबाट प्रवाह हुने सेवा र कार्यसम्पादन थप गुणस्तरीय हुनेमा बिश्वास लिएको बताए । ‘न्याय नपाए गोरखा जानू भन्ने युक्ति स्मरण गर्दै उनले न्यायको इतिहासमा गोरखा अंग्रपक्तिमा रहेको र यस जिल्लाको भवन उद्घाटन गर्न पाउँदा आफू खुशी भएको जानकारी दिए । नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतमा यो वर्ष २८ हजारभन्दा बढी मुद्दा दर्ता भइसकेको जानकारी गराए । उनले भने, ‘वर्षेनी ४० हजारभन्दा बढी मुद्दा दर्ता हुन्छ, यता जनताको अपेक्षा चाडै न्याय सम्पादन होस् भन्ने हुन्छ, हामीले सबै मुद्दा हेर्नुपर्ने भएकाले गर्दा गर्दै पनि न्याय सम्पादनमा केही समय लाग्छ ।’

सर्वोच्च अदालतमा बक्यौता मुद्दाको लगत कम हुदै गएको उनले बताए । दुई बर्ष नाघेका मुद्दाहरु शून्यमा ल्याउने उदेश्यका साथ अदालतहरु लागी परेका बताउँदै उनले गोरखा अदालतले गत आव गरेको कामको मूल्याकंन समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस