नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, १२ : ४८
नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् :  अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताए ।

मंगलवार काठमाडौंमा आयोजित बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे । उनले अघिल्लो पुस्ताका नेताहरुले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याए । युवाहरु विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए ।

उनले भने, ‘व्यवस्था परिवर्तनमा तपाईहरुको महत्वपूर्ण योगदान रह्यो । तर समृद्धिका लागि तिमीहरुले राम्रो काम गर्न सकेनौं । अव समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुप¥यो । मेरो भनाई त्यहाँ हो । जाने अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अष्ट्रेलिया वा जापान, चाईना जहाँ गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि, सामाजिक न्यायको लागि अघिल्लो पुस्ता अधिकार प्राप्तीका लागि जति लडाई ग¥यो, अव बाँकि काम गर्ने दायित्व हाम्रो हो भनेर एक चोटी अर्को संघर्ष गर्न जरुरी छ । युवाहरुले गर्ने संघर्ष भनेको त्यो हो । ज्वाई ससुराली गएर खाएजस्तो गरेर विदेशमा बसेर नेपाल बिर्सने काम युवाहरुले गर्नुहुँदैन । त्यहाँ सिकेर देश निर्माण गर्न लाग्नुप¥यो । मेरो अनुरोध के हो भने हिजोको पुस्ताले अहिलेसम्म राजनीति गरिरहेको पुस्ताले ठूलो त्याग गर्दै राजनीतिक परिवर्तन जिवनमरणको लडाई लडेर यो परिवर्तन ल्यायो । त्यसका लागि धन्यवाद भनौं । अव अगाडि बढनेमा आशातित हिसावले गर्न नसकेर हिजोको त्यागको प्रतिफल आफैं खान सन्ततिका लागि हुनुपर्नेमा आफैंका लागि भनेर अलि लोभलालची हुन थाल्यो । के गर्नु सत्तामा गइरहने तर तर राम्रो नगरेपनि सधैंभरी कति पटक भनेर लागि रहने जुन भइराखेको छ । त्यसमा युवाहरुले हस्तक्षेप गरेर तपाईहरुजस्तो ऊर्जाशील आएर देशलाई सुशासन, न्याय र आर्थिक प्रगतिमा लैजाने कुरामा अठोट गर्नु प¥यो । वातावरण बनाउने हो । बनेन भने संघर्ष गर्ने पनि अर्को कुरा हो । देशलाई आर्थिक प्रगति र समृद्धिका दिशामा अघि बढाउने गरी युवाहरुले काम गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरु दृढ अठोटका साथ अघि बढनुपर्ने बताए । उनले बालक्लवमा आवद्ध युवाहरुले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस