कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र स्थापनाको विषय प्रवेश गराउन सभापति देउवा सकारात्मकः शंकर भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १४ : १४
कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र स्थापनाको विषय प्रवेश गराउन सभापति देउवा सकारात्मकः शंकर भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दूराष्ट्र स्थापना गर्ने विषयलाई आगामी महासमितिको बैठकमा छलफल गराउन सभापति शेरबहादुर देउवा सकारात्मक भएको बताएका छन् । देउवाले केही दिनअघि नवलपुरमा धर्मनिरपेक्षताको विषयमा छलफल गर्न तयार रहेको बताएपछि भण्डारीले सभापातिलाई भेटेर सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् । 

 

‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूसँग शुक्रवार बिहान धुम्बाराहीस्थित उहाँको निवासमा भेट गरी आसन्न महासमिति बैठकमा  बैदिक सनातन हिन्दूराष्ट्र स्थापनाको विषयलाई प्रवेश गराउनु पर्छ भनेर आफ्नो धारणा राखेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।,

‘यस विषयमा पार्टी सभापतिज्यू सकारात्मक रहेको पाएको छु।’भण्डारीले देउवाको सो अभिव्यक्तिलाई स्वागतयोग्य भनेका थिए ।‘मलगायत पार्टीका नेता तथा कार्यकर्ता साथीहरूले  लामो समयदेखि उठाउँदै आएको  वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाको एजेन्डाको विषयमा पार्टी सभापति देउवाज्यूबाट जुन आएको छ,’ उनले थपेका छन् ।

‘त्यो अत्यन्त स्वागत योग्य रहेको छ । पार्टी सभापतिज्यूको उक्त अभिव्यक्तिले आसन्न महासमिति बैठकमा हिन्दूराष्ट्र स्थापनाको विषयले प्रवेश पाउँछ भन्नेमा विश्वत रहेको छु।’

 

 

 

देउवाले नवलपुरमा गणतन्त्र र संघीयताबारे प्रश्न उठाउन नमिल्ने तर धर्म निरपेक्षताको विषयमा पार्टीमा छलफल गर्न सकिने बताएका थिए । कांग्रेसमा देउवाको अघिल्लो कार्यकालमा बसेको महासमितिको बैठकमा भण्डारीसहितका नेताले हिन्दूराष्ट्रका लागि छलफल गर्नुपर्ने भन्दै हस्ताक्षर नै पार्टीलाई बुझाएका थिए ।

तर यस्तो हस्ताक्षरलाई कांग्रेसले बेवास्ता गरेको थियो ।देउवाको भनाइबाट यसपटक उत्साही भएका भण्डारीसहितका नेताले महासमितिमा फेरि हस्ताक्षर अभियान चलाउने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस