काठमाडौँ । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाको सिङ्गो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रूपान्तरण गरिएको माओवादी रुकुम पश्चिमले जनाएको छ ।अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ । त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ ।
पश्चिम रुकुमको सिङ्गो माओवादी पार्टी बिहानैदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिएको र ३ हजार सदस्यीय स्वयंसेवक दल गठन गरी जिल्लास्तरीय कमाण्ड पूर्वमन्त्रीसमेत रहेका जनार्दन शर्माले गरेको बताइएको छ ।
माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा बाग्मती प्रदेशका इन्चार्जको जिम्मेवारीमा छन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएको बताएका छन् ।
पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता-कार्यकर्ताहरु पनि खटिएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड