आगामी बिहीबार पोखरा विमानस्थलमा चार्टर फ्लाइट हुने

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १२ : ३७
आगामी बिहीबार पोखरा विमानस्थलमा चार्टर फ्लाइट हुने

काठमाडौँ । क्षत्रिय विमानस्थल पोखरामा पुनः चार्टर फ्लाइट हुने भएको छ । आगामी नोभेम्बर २३, २०२३ अर्थात् मङ्सिर ७ गते चिनियाँ जहाज पोखरा ओर्लिने भएको हो ।

'माउन्टेन क्रस कन्ट्री कम्पिटिसन' रेस प्रतियोगिताको अवसरमा धावक खेलाडीसहित चिनियाँ पर्यटक चार्टर फ्लाइटमार्फत नेपाल आउन लागेका हुन् । उक्त चार्टर फ्लाइटमार्फत खेलाडी प्रतिनिधिसहित १०४ जना चिनियाँ पर्यटक नेपाल आउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले बताए ।

 

यसअघि गत असारमा पोखरामा आयोजित ड्रयागन बोट रेस फेस्टिभलमा पनि दुई वटा चार्टर फ्लाइटमार्फत चिनियाँ पर्यटक नेपाल आएका थिए ।अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि नियमित उडान हुन नसकिरहेको अवस्था चिनियाँ दूतावाससँगको साझेदारीमा विविध कार्यक्रम गरेर चार्टर फ्लाइटमार्फत पर्यटक भित्र्याउन बोर्ड लागि परेको सिइओ रेग्मीले बताए ।

'कोभिड-१९ पछि सुस्ताएको पर्यटन क्षेत्रले बिस्तारै गति लिँदै छ । बढ्दो पर्यटकमा चिनियाँहरूको आकर्षण तीव्र छ । यसैले पर्यटन बोर्डले नेपाल स्थित चिनियाँ राजदूतावाससँगको साझेदारीमा विविध कार्यक्रम गरिरहेको छ' सिइओ रेग्मीले भने, 'यो वर्ष मात्र दूतावाससँग मिलेर बोर्डले चार वटा कार्यक्रम गर्दै छ । यसैको एउटा कार्यक्रम माउन्टेन क्रस कन्ट्री कम्पिटिसन पनि हो ।'

विभिन्न क्याटागोरीमा खेलाइने दौडका लागि नेपालसहित चिनियाँ खेलाडीले भाग लिँदै छन् । कार्यक्रम नोभेम्बर  २६, २०२३ मा पोखरामा हुनेछ । कार्यक्रमको मुख्य आयोजकमा नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदूतावास रहेको छ भने सह आयोजकमा पोखरा महानगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस