चिसोले जाजरकोटमा एक महिने शिशुको निधन, ५० बालबालिका बिरामी

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १० : ३७
चिसोले जाजरकोटमा एक महिने शिशुको निधन, ५० बालबालिका बिरामी

जाजरकोट। चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।

 

भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

 

चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्।भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।