जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

रासस

शनिबार, ०२ मंसिर २०८०, १४ : ३५
जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

जाजरकोट । भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उनकी छोरी घाइते भइन् । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किइन् । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन् । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ । 

आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लागेकी छन् । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाएकी छैनन् । अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्न गएका थिए । 

घरमा आमा, छोरीमात्र भएको समयमा आएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको बताइन् । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनुपर्यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र (गाउँमा बोलाउने नाम) बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो । 

अहिले घुयलनेटाको पूरै गाउँ शोकमा छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्छ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बम विष्फोट भएको थियो ।

पटकपटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए । 

भेरी नगरपालिका–४ खलंगास्थित कस्तुरी बोर्डिङ स्कुलको प्रांगणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवाको त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा र हात खुट्टा सुनिएका छन् । 

कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालमै सहारामा खुला चौरमा बसिरहेकी छन् ।  

भूकम्प जानुभन्दा तीन अघि सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन् । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आएको उनको भनाइ छ । भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँचजनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन घरमा खाने कुरा नभएर हैरानमा छ । 

त्रिपालकै सहारामा बसिरहेको हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै समस्य छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिकी चलाउन समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ । 

भेरी नगरपालिका–१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ । 

पुष्पाले भनिन्, “अरु नदेखिने समस्य त के हामीलाई थाहा छैन ।” धन्न घर भत्किँदा बाचेको जिन्दगी त्रिपालको सहारामा कसरी बाँच्ने संघर्ष सुरु भएको उनले बताइन् । “त्रिपालबाट पनि शीत चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?,” उनले भनिन्, “राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौँ । चिसो र भोकले मर्ने बेला भो ।”

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालिकी कल्पना विकले बताइन् । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन् ।  

“जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् तर उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिकरूपमा डराइरहेको अवस्था छ,” नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले भने । प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु आवश्यक रहेको बताए । स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ । 

नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० श्ययाको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।