वर्षाअघि नै भूकम्प पीडितलाई नयाँ घर दिन सकिन्छ : जनार्दन शर्मा

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, ११ : ०९
वर्षाअघि नै भूकम्प पीडितलाई नयाँ घर दिन सकिन्छ : जनार्दन शर्मा

रुकुम पश्चिम । गृह जिल्ला रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सक्रिय माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनर्निर्माणको महत्वाकांक्षी योजना अघि सारेका छन् । वर्षायाम सुरु हुनुभन्दा अघि नै पीडितहरुलाई नयाँ घरमा सार्न सकिने रोडम्याप शर्माको छ ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण गरी तीन चरणको कार्य योजना बनाएका शर्माले मानवीय उद्धारको काम पूरा भएको र राहत वितरणको काम जारी रहेकाले अब पुनर्निर्माणको तयारी भइरहेको बताए ।

उनले भने, ‘पुनर्निर्माणका काम दुई चरण हुनेछन् । पहिलोमा अस्थायी टहरा निर्माण गरिने छ । टेम्पोररी लिभिङ सेन्टर (टि.एल.सी.) अर्थात अस्थायी छानाहरुले नयाँ घर नबनेसम्मको समयलाई आश्रय दिनेछन् र दोस्रोमा भूकम्प प्रतिरोधी नयाँ घरहरु बनाउनुपर्ने छ ।’

पुनर्निर्माणको चरणमा प्रधानमन्त्री प्रचण्डले भनेअनुसार भूकम्प पीडितलाई व्यवस्थित आवासको व्यवस्था हुनेमा पनि आफू विश्वस्त रहेको उनी बताउँछन् ।पश्चिम रुकुममा संकलन गरिएका प्रारम्भिक रिपोर्ट अनुसार त्यहाँ १८ हजार भन्दा बढी घरहरु पुनर्निर्माण गर्नुपर्ने छ । ती सबै घरहरु एकतले बन्ने छन् । तिनको स्वीकृत मापदण्ड एउटै हुँदा बनाउन धेरै समय लाग्ने छैन । त्यसो हुँदा आउने साउन महिना अघि नै नयाँ घरहरु निर्माण गरिसक्नुपर्ने छ ।

रोडम्याप अनुसार सरकारी संरचनाहरुलाई परिचालन गर्न र बजेट व्यवस्थापन गर्न सकियो भने आगामी वषर्ा अघि नै पीडितहरुलाई नवनिर्मित घर दिन सकिने शर्मा बताउँछन् । ‘म यसमा किन पनि विश्वस्त छु भने सरकारमा रहेका गठबन्धन दल र भूकम्प प्रभावित जिल्लामा रहेका सबै नेताहरुलाई काममा ढिलासुस्ती मन पर्दैन । हरेक कुरा समय अगावै सक्ने कमिटमेन्टप्रति यहाँका जनता पनि विश्वस्त छन् ।’

कात्तिक १७ को मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५३ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएका छन् । कतिपय घरबारविहीन भएकाहरु खेतबारी, सडक किनार र खुला चौरहरुमा त्रिपाल टाँगेर बसिरहेका छन् । अहिलेको जाडोको समय र आउने वर्षाको समयमा उनीहरुलाई जोगाउनुपर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस