काठमाडौं। भैरहवास्थित युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक महिनादेखि जारी विद्यार्थी आन्दोलन सहमतिमा टुंगिएको छ । कलेजकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुंदे सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको हो ।
ड्रेस कोडमा असहमति जनाउँदै शुरू भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपलको राजीनामासम्म आइपुगेको थियो ।असोज २२ गतेबाट शुरू भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पीएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसंग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुचारु हुने जानकारी गराएका छन् ।
आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । विद्यार्थीहरूले प्रिन्सिपल पाठकलाई ५ दिनसम्म बन्धक समेत बनाएका थिए ।
पछि प्रशासनले प्रिन्सिपल पाठकलाई बन्धक अवस्थाबाट मुक्त गरेको थियो । प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन् । जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो ।
नयाँ ड्रेस कोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भएको थियो ।
तर विद्यार्थीहरूले प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन जारी राखेका थिए । विद्यार्थीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १२ : ५४
लेखकबाट थप