आरती साह प्रकरण : न्यायको लागि गृहमन्त्री श्रेष्ठको ध्यानाकार्षण, आजै सम्वादको लागि परिपत्र जारी हुने

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १४ : ३१
आरती साह प्रकरण : न्यायको लागि गृहमन्त्री श्रेष्ठको ध्यानाकार्षण, आजै सम्वादको लागि परिपत्र जारी हुने

काठमाडौं । धनुषाकी आरती साहको परिवारलाई न्याय दिलाउको लागि आम जनता पार्टीका प्रतिनिधिहरुले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकार्षण गराएका छन् । विगत १४४ दिन भन्दा बढि समयदेखि छोरीको न्यायको लागि आरतीका बुवा–आमा काठमाडौंको माईतीघरमा शान्तिपूर्ण धर्नामा छन्  ।

तर, सरकारले अहिलेसम्म पीडित परिवारसँग वार्ता गरेको थिएन् । यसै सन्दर्भमा आरती साहको न्यायको लागि सुरुदेखि नै साथ, सहयोग र समर्थन गर्दै आएको आजपाका नेताहरुले आज उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठसँग भेटेर न्यायको लागि गम्भीर ध्यानाकार्षण गराएका हुन् ।

आजपाको तर्फबाट केन्द्रीय सदस्य तथा कार्यालय सचिवद्धय बालकृष्ण सापकोटा र रञ्जु साहले आज (सोमबार) सिंहदरबारस्थित् गृहमन्त्रालयमा गृहमन्त्री श्रेष्ठलाई भेटेर आरती साहको न्यायको लागि ध्यानाकार्षण गराएका हुन् । सापकोटाकाअनुसार गृहमन्त्री श्रेष्ठले सरकारले तत्कालै आरतीको परिवारको लागि न्याय दिलाउनेगरि कदम चाल्ने आश्वास दिएका छन् ।

उनले भने,‘गृहमन्त्रीज्यूले आजै वार्ता तथा सम्वादको लागि परिपत्र जारी गर्छु भन्नुभएको छ, हामीले आरतीले न्याय पाउनुपर्छ भने सुरुदेखि नै आवाज उठाउँदै आएका छौं । हाम्रो पार्टीका श्रद्धेय अध्यक्षज्यूले त आरतीको परिवार धर्नामा बसेका ठाउँमा पुगेर नै उहाँहरुको मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ । हामी यही कार्तिक २२ गते दिउँसो १ बजे धर्नामा बस्दैछौं ।’

प्रतिक्रिया दिनुहोस