भूकम्पमा आमाबाबु गुमाएका १० बालबालिकालाई नि:शुल्क उच्च शिक्षा दिने उमेश श्रेष्ठको घोषणा

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १३ : २२
भूकम्पमा आमाबाबु गुमाएका १० बालबालिकालाई नि:शुल्क उच्च शिक्षा दिने उमेश श्रेष्ठको घोषणा

काठमाडौं। एलए एजुकेसन ग्रुपका संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या लिम्बूले जाजरकोट र रुकुम पश्चिमको भूकम्पमा आमाबुवा गुमाएका १० बालबालिकालाई उच्च माध्यमिक तहसम्म आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका श्रेष्ठले शुक्रबार राति गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै आमाबुवा गुमाएका ५ छात्र र ५ छात्रालाई नि:शुल्क शिक्षा दिन न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनीहरूलाई एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूमा आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गरिने छ । ‘एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू)ले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै विपत्तिमा आमाबाबु दुवै गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का  लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुपअन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

शुक्रबार मध्यराति गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाले ज्यान गुमाएका छन् भने दुई सय बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस