तीनै तहका सरकारलाई सक्रियतापूर्वक उद्धार कार्यमा लाग्न माओवादी केन्द्रको अपिल

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १४ : ०५
तीनै तहका सरकारलाई सक्रियतापूर्वक उद्धार कार्यमा लाग्न माओवादी केन्द्रको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघ संस्था लगायत आम जनसमुदायलाई सक्रियतापूर्वक उद्धार तथा राहत कार्यमा लाग्न अपिल गरेको छ ।

शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्को यस क्षणमा कर्णाली प्रदेश लगायत सिंगो पार्टीपक्ति, जनवर्गीय संगठन तथा मोर्चा र विभागलाई तत्काल उद्धार र राहतमा द्रुतगतिमा जुट्न निर्देशन पनि दिएको छ ।

‘विपद्को यस घडीमा घाइतेको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनर्स्थापनाको व्यवस्था गर्न, खाद्यान्न लगायतका आवश्यक बन्दोवस्तीको सामग्रीको यथाशीघ्र व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ,’ पार्टी महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादीले गएरातिको भूकम्पमा परेर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति पौने १२ बजे ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा सयौँको संख्यामा मानवीय क्षति भएको छ भने हजारौँ घाइते तथा अंगभंग भएका छन् ।

यस्तै करोडौंको भौतिक क्षेत्र भएको प्रारम्भिक विवरण आइरहेका छन् । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेकाले क्षति अझ बढ्न सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस