प्रशोधित सुपारी आयातमा अतिरिक्त कर लगाउन निर्देशन

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १६ : ३६
प्रशोधित सुपारी आयातमा अतिरिक्त कर लगाउन निर्देशन

काठमाडौं । संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले बाह्य मुलुकबाट नेपालमा आयात हुने सुपारीमा अतिरिक्त कर थप गर्न सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको १४ औं बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल आयात गरेर नेपाली सुपारी भन्दै पुनः भारत लगायतमा सुपारीको तस्करी भइरहेको निष्कर्षसहित समितिले नेपालमा बाह्य मुलुकको सुपारी आयात नै हुन नदिनेगरी कर लगाउन सरकारलाई भनेको हो ।

 

यस्तो करका बाबजुद पनि आयात हुने सुपारीबाट हुने आम्दानी नेपाली सुपारी कृषिको हकमा लगाउन समेत समितिले निर्देशन दिएको छ ।यस्तै समितिले यथास्थितिमै नेपालबाट भारत तथा तेस्रो मुलुकमा कुनै प्रकारका सुपारी निर्यातको गर्नदिन नसकिने निर्णय गरेको छ ।बैठकमा नेपालमा उत्पादन हुने कच्चा सुपारी कच्चा अवस्थामै निर्यातको अनुमति दिनेबारे छलफल गरे पनि अध्ययन र अनुगमनविना निर्यातको कुनै निर्णय नगर्ने समझदारी गरेको हो ।

तेस्रो मुलुकबाट आायात हुने सुपारी नेपालबाट तस्करी भएर भारतीय बजार पुगेको र नेपाललाई दलाल समूहले बदनाम गरेको भन्दै समिति सदस्यहरुले नेपाली सुपारी खेतीको स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, सुपारी खेती प्रवर्द्धन गर्न, सुपारीलाई कृषिजन्य उपजमा सूचीकरण गर्न, नेपाली किसानबाटै सुपारी प्रशोधनका लागि यन्त्रिक सहयोगका लागि अनुदान उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस