आदिनाथमा एक महिने मेला सुरु

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, ११ : ०३
आदिनाथमा एक महिने मेला सुरु

काठमाडौं । काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।

उक्त मेलामा काठमाडौं उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्छन् । मेलामा सहभागी भएमा  भक्तजन भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएका छन्ज सलाई अर्धनारेश्वर (आदिनाथ) भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने गर्छन् ।  

हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पूजा गर्ने गर्छन् । बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ । 

हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरसँग दुवै धर्मका भक्तजनको अन्योन्यास्रित सम्बन्ध रहेको कीर्तिपुरका स्थानीयहरुको भनाइ छ । 

मन्दिरमा सप्त सत्वपूजा गरी पताका, ध्वजा, विभिन्न भाँडाकुँडा, गरगहना पहिल्यैदेखि चढाउने गरेको पाइन्छ । स्थानीय व्यवसायी कन्हैया कुँवरका अनुसार मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्छ ।   

काठमाडौंबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिरमा विसं २०७२ को भूकम्प तथा परकम्पनका कारण क्षति पुगेकाले संरचना मर्मत तथा जीर्णोद्धार गरिएको छ ।

चोभारडाँडाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मन्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् । काठमाडौं उपत्यका जलमग्न भएपछि मञ्जुश्रीले चोभारको डाँडामा खड्ग प्रहार गरी पर्वत छेदन गरेको र पानीलाई निकास दिएको स्थान पनि यसै क्षेत्रमा छ । 

प्रतिक्रिया दिनुहोस