दसैँमा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, ०९ : ४३
दसैँमा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन

चितवन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो ।

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । अघिल्ला वर्षहरुमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ । 
 
धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरुका तुलनामा झण्डै ३० प्रतिशत भक्तजन बढेको उनले बताए । पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उनले बताए ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उहाँको अनुमान छ । यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका उनले बताए । उनले भने, “केबलकार बनेपछि सहजताका कारण भक्तजनको सङ्ख्या पनि बढेको हो ।” 

यो सङ्ख्या हालसम्मकै बढी भएको उनी बताउछन्। कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भीड थियो । उनले आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भीड लाग्ने अनुमान गरिएको बताए। यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरु दुईवटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन् । तर पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको सङ्ख्या धेरै छ ।  
 
घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन् ।  नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ । अन्य समय शनिबार ५ः३० र अन्य दिन ६ बजेबाट साँझसम्म केबलकार सञ्चालन हुने गरेको छ ।  

केबलकार चलेपछि अन्य दिनमा पनि पहिलेको भन्दा भक्तजन २५ प्रतिशतले बढेका उनले जानकारी दिए । अन्य समयमा शनिबार एक हजार पाँच सयको हाराहारीमा भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य दिन भने यो सङ्ख्या पाँच सयको हाराहारी हुने गर्दछ ।
 
बिदाका दिन र पर्व विशेषमा भने भक्तजनको सङ्ख्या बढ्ने गर्दछ । उनले भने, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केबलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केबलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस