मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १० : ००
मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु

मकवानपुर ।  त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गएराति मोटरसाइकल  दुर्घटनामा  परि एक जनाको मृत्यु भएको छ । 

भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।  

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए । 

यता कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साइकलयात्री डाटाप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा बा७८प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले बताए ।

मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–७ का चाकाबारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।