नेपालमा चामलको मूल्य घट्ने

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ११
नेपालमा चामलको मूल्य घट्ने

काठमाडौँ । धानको नयाँ बाली भित्र्याउने र भारतले चामल निर्यात खुलाएकाले चामलको मूल्य घट्दै जाने आकलन गरिएको छ । पछिल्लो समय नेपाललाई भारतले बासमती बाहेकका चामल निर्यातमा रोक लगाउँदा दुई सय रुपैयाँ प्रतिबोरासम्म मूल्य वृद्धि भएको थियो ।

भारतले निर्यात रोक लगाउनुअघि २५ किलो चामलसहित प्रतिबोरा दुई हजारदेखि दुई हजार ५० रुपैयाँमा बिक्री भएको थियो । तर तीन महिना यता प्रतिबोरा चामल दुई हजार दुई सय ५० रुपैयाँसम्म पुगेको छ । यही कार्तिक १ गतेबाट भारतले चामलमा लगाएको प्रतिबन्ध हटाएको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले चामलमा रोक लागेसँगै बढेको मूल्य भारतले नियाँत फुकुवा गरेसँगै घट्नुपर्ने तर्क गर्छन् । ‘प्रतिबन्धको बहानबाजी गरी चामलको मूल्यवृद्धि गर्ने तर घटाउन नमान्ने भन्ने हुँदैन,’ उनी भन्छन्, ‘नेपाली उत्पादन बजारमा आउने सिजन भयो,  चामलको मूल्य घटाउन सरकारले पहल गर्नुपर्छ ।’

व्यापारीले अहिले चामलको थोक मूल्य केही घटेको दाबी गरेका छन् । नेपाल खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष नरेश शाहीले २५ किलो बोराको जिरा मसिनो चामलमा ५० देखि ७५ रुपैयाँसम्म घटेको बताए । ‘भारतले निर्यात रोक लगाएपछि प्रतिबोरा चामलमा दुई सय रुपैयाँँ मूल्य वृद्धि भएको थियो,’ उनी भन्छन्, ‘अहिले प्रतिबोरा चामलमा ५० देखि ७५ रुपैयाँ थोक मूल्य घटेको छ ।’ हाल धान भित्र्याउने सिजन भएकाले पनि चामलको मूल्य घट्दै जाने शाहीको आकलन छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी तथा निर्देशक आनन्दराज पोखरेलका अनुसार, पुरानो चामल मौज्दात र नयाँ फसल भित्रिने भएकाले चामलको मूल्यमा कमी आउने बताए । ‘चामलको थोक मूल्य एक महिनाअघि नै घटेको छ,’  पोखरेल भन्छन्, ‘पुरानो चामल मौज्दात छ, नयाँ फसल भित्रिने र भारतले चामलमा प्रतिबन्ध फुकुवा गरेकाले चामलको मूल्य घट्छ ।’

चामलको मूल्य घटबढ हुनुमा उत्पादन, ढुवानी, प्रशोधन र उत्पादन लागतमा निर्भर हुने जानकारहरु बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटीले चाडबाडका बेला व्यापारीले चामलको मूल्य घटाउन नमान्ने बताइन् । उनी भन्छिन्, ‘बढिसकेको मूल्य दसैँको मुखमा व्यापारीले के घटाउलान र ?’

केही महिना अघिमात्रै भारतले बासमती बाहेक चामलमा रोक लगाएको थियो । नेपाल लगायत ७ देशका लागि भारतले चामल निर्यातमा प्रतिवन्ध फुकुवा गरेको छ । यो फुकुवा भएसँगै नेपालले ९५ मेट्रिक टन चामल आयात गर्न पाउने बाटो खुलेको हो ।

वार्षिक अर्बौं रकमको चामल आयात

नेपालीको भान्छामा भातको माग बढेसँगै हरेक वर्ष विदेशबाट चामलको आयात बढ्दो छ । सरकारी तथ्याङ्क अनुसार, हाल नेपालमा वार्षिक कुल ४० लाख मेट्रिक टन चामलको माग छ । स्वदेशी उत्पादनबाट ३४ लाख मेट्रिक टनमात्र उपलब्ध हुन्छ । माग पूर्तिका लागि भारत, थाइल्याण्ड, चीन लगायत मुलुकबाट अर्बौ रकमको चामल नेपाल भित्रिन्छ । चालु आर्थिक वर्षको तीन महिना यता चामलमा रोक लगाएकाले आयात भएको देखिँदैन ।

भन्सार विभागका अन्ुासार, आर्थिक वर्ष २०७७÷७८ मा नेपालले ३० अर्ब २३ करोड ६९ लाख रुपैयाँको चामल आयात गरेको थियो । सो रकम बराबर ६ लाख ३६ हजार मेट्रिक टन चामल आयात भएको थियो । आर्थिक वर्ष २०७८÷०८९ मा ५ लाख ७८ हजार मेट्रिक टन चामलको लागि ३० अर्ब ५८ करोड २९ लाख रुपैयाँ बहिरिएको छ । अन्य वर्षको तुलनामा गत वर्ष चामल आयात घटेको भन्सार विभागको तथ्याङ्क छ । गत वर्ष १५ अर्ब ९१ करोड २४ लाख रुपैयाँको दुई लाख ३३ हजार मेट्रिक टन चामल आयात भएको छ ।

कति हुन्छ आन्तरिक उत्पादन ?

नेपालमा बाढी, मल अभाव र प्रकोप लगायत कारणले धानको उत्पादन घट्ने अवस्था देखिएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार मेट्रिक टन उत्पादत भएको थियो । २०७८÷७९ मा ८ दशमलब ७४ प्रतिशतले धानको उत्पादन घटेको छ । यो वर्ष ५१ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । वार्षिक सरदर ५४ लाख मेट्रिक टन धानबाट प्रशोधन खर्च कटाएर करिब ३४ लाख मेट्रिक टनको हाराहारीमा चामल उपलब्ध हुन्छ । नेपालमा १४ लाखभन्दा बढी हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस