छेन्दु पुगे उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, १९ : ४९
छेन्दु पुगे उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु पुगेका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका मन्त्री नारायणकाजी श्रेष्ठ आज छेन्दु पुगेका हुन्

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाईयू वियान र नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुनेछन् । 

उनले यही असोज ३० र कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस