म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

रासस

सोमबार, २२ असोज २०८०, १४ : २४
म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

म्याग्दी । विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ । धवलागिरि गाउँपालिका-२ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए ।हाब्रे भेटिएको सम्बन्धी समाचार गत बिहीबार सार्वजनिक भएको थियो ।

म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य प्रमाणित भएपछि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले संरक्षण कार्यक्रम सञ्चालन गर्न चासो दिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए ।

“हाब्रे भेटिएको खबर सार्वजनिक भएपछि युएसएडअन्तर्गत गण्डकी प्रदेशमा लागू भएको जल र जङ्गल परियोजनाका अधिकार आइतबार वन डिभिजन कार्यालयमा आएर संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ”, उनले भने ।

जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उक्त परियोजनाका ल्याडस्केप टिम लिडर मानबहादुर विक र वरिष्ठ कार्यक्रम अधिकृत सोभियत कोईरालाको टोलीले डिभिजन वन कार्यालयसँग हाब्रे संरक्षण कार्यक्रम सञ्चालनको विषयमा छलफल गरेका हुन् ।

“नयाँ र उपलब्धि देखिने काम हुने भएकाले म्याग्दीमा हाब्रे संरक्षणको कार्यक्रम परियोजनामा समेट्ने समझदारी भएको छ”, वन अधिकृत रानाभाटले भने, “स्थानीय तह र वन डिभिजन कार्यालयसँग छलफल गरेर संरक्षणका कार्यालय बनाउने विषयमा छलफल भएको छ ।”

सात वर्षअघि भएको अध्ययनका क्रममा जलजलाको जङ्गलमा भेटिएको दिसाको आधारमा हाब्रेको बासस्थान भएको बताइएको थियो । म्याग्दीमा यसअघि दुुलर्भ वन्यजन्तु रेडपाण्डा भौतिकरुपमा देखिएको थिएन । संरक्षण कार्यक्रमको प्रभाव, चोरीसिकारी नियन्त्रण र जनचेतना अभिवृद्धिका कारण हाब्रे देखिन थालेको विषयमा अनुसन्धान गर्दै आएका बद्री बरालले बताए ।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले लज्जालु स्वभावको हाब्रे खोजी अभियान सञ्चालन गरेको थियो । लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेका बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको वासस्थानका विषयमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ तथा मुुदीमा अध्ययन गरेका थिए ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा मालिङ्गो र टोड्का परेका रुख यस क्षेत्रको जङ्गलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु. पाँच लाखदेखि रु. १० लाख जरिवाना, पाँचदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार रहेको अनुमान गरिए पनि दुई सय ३७ को मात्र यकीन भएको छ ।

विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यान्मामा मात्र रेडपाण्डाको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन जातको रेडपाण्डा छ । नेपालका २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।