‘जीएआई फूड, बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ देखि भृकुटीमण्डपमा हुने

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १३ : २१
‘जीएआई फूड, बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ देखि भृकुटीमण्डपमा हुने

काठमाडौं। ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ गतेबाट हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा असोज २१ गते आइतवारसम्म चल्ने एक्स्पो नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको एकमात्र वृहत् एक्स्पो हो ।​​​

जीएआई एफबीएचले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ । जसमध्ये १५ हजार व्यावसायिक आगन्तुकहरूको सहभागिता रहने जीएआई एफबीएचले जनाएको छ ।

यस मेलामार्फत् आगन्तुकहरूले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । साथै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले प्रदर्शकहरूको सङ्ख्यामा पनि वृद्धि रहेको आयोजकले जनाएको छ ।

 

आयोजकका अनुसार मेलामा ५ हजार उत्पादन  सेवाहरू, २ सय  कम्पनीहरू रहनेछन् भने १८ सय वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन् ।कार्यक्रममा कम्पनीहरूले आफ्ना उत्पादनहरूको विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत  जानकारी दिने भएकाले आगन्तुकहरूका लागि नयाँ खाना र पेय पदार्थहरूको  स्वाद लिन यो एक उत्कृष्ट अवसर आयोजकको विश्वास छ ।

यसका साथै यो कार्यक्रम  खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्वपूर्ण स्थान हुनसक्ने आयोजकको दाबी छ ।

नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५ हजार ५ सय रहेको छ । जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् । 

साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३ हजार ८०६ छ । जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस