बेल्जियम पुगेर एनआरएनए अध्यक्ष आचार्यले भने– सम्पूर्ण ध्यान नागरिकतामा गएकाले अरु धेरै काम पूरा गर्न सकिएन

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १३ : ०२
बेल्जियम पुगेर एनआरएनए अध्यक्ष आचार्यले भने– सम्पूर्ण ध्यान नागरिकतामा गएकाले अरु धेरै काम पूरा गर्न सकिएन

काठमाडौं। ब्रसेल्स– गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य बेल्जियम आइपुगेका छन् । काठमाडौंमा यही असोज ३० देखि कात्तिक ३ सम्म हुन गइरहेको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आचार्य बेल्जियम आइपुगेका हुन् ।

 

बेल्जियमको ब्रसल्स विमानस्थलमा आचार्यको टिमलाई एनआरएनए  बेल्जियमकी अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष पदमा उमेदवार तथा पूर्वअध्यक्ष गंगाधर गौतम, एनआरएनए युवा अभियन्ता काशी दनै लगायतले स्वागत गरेका थिए ।

 

त्यसलगत्तै लुभेन शहरमा एनआरएनए सदस्य तथा नेपालीहरूमाझ एक स्वागत तथा अन्तरक्रिया  कार्यक्रमको आयोजना गरिएको थियो ।एनआरएनए बेल्जियमले आयोजना गरेको उक्त कार्यक्रममा अन्य देशबाट आएका विभिन्न पदका प्रत्याशीको समेत सहभागिता रहेको थियो । 

निर्वाचन नजिकिँदै गर्दा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा   सहभागीहरूले एनआरएनएको अबको कार्यदिशा कस्तो हुने, एनआरएनए  नागरिताको फाइदा–बेफाइदा, निर्वाचन प्रचारप्रसार भड्किलो भएकोजस्ता विषयमा प्रश्न उठाएका थिए ।  ‘हामीले अब किन भोट दिने ?’, केका लागि जिताउने, एनआरएनको साख किन गिरेको ?’लगायत प्रश्न उनीहरूले उठाएका हुन् ।

जवाफमा अध्यक्ष आचार्यले आफूहरूको सम्पूर्ण ध्यान यसपटक नागरितामा गएका कारण अरु धेरै काम चाहेर पनि पूरा गर्न नसकेको बताए ।‘हामी कहिले को मन्त्री, कहिले को सचिव, कहिले को नेतालाई भेटेर थाक्यौँ, अरु काम गर्न नै सकेनांै, अब त्यसो हुँदैन,’ उनले भने, ‘हामीले एनआरएनए हेर्ने छुट्टै विभाग वा मन्त्रालय मागेका छौं ।’

त्यसैगरी उपाध्यक्ष पदका उमेदवार गंगाधर गौतमले नागरिताको प्रश्न राजनीतिक भएका कारण एनआरएनएमा लागेकाले राजनीति गर्नै नहुने, बुझ्नै नहुने, नेतासँग सम्पर्क–सम्बन्ध राख्नै नहुने भन्ने केही नभएको तर्क राखे ।

कार्यक्रममा  नेदरल्यान्डसबाट केन्द्रीय उपाध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरिसकेका नारायण आचार्य, आईसीसी युवा संयोजकका उमेदवार रहेका पोर्चुगलका पूर्वअध्यक्ष रवीन अधिकारी, सचिव पदका उमेदवार तथा पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी कमल, अमेरिकाबाट महासचिव पदका लागि उमेदवारी घोषणा गरेका बुद्धि सुवेदी, स्पेनबाट सचिवमा उमेदवारी दिएका चिन्तामणि सापकोटा लगायतले आगामी महाधिवेशनमा आफूहरूलाई मतदान गन आग्रह गरेका थिए । 

कोरोना भाइरस, भूकम्प लगायतको मानवीय संकटमा आफूहरूले गरेको योगदानको कदर गरिदिन सबैको आग्रह थियो । त्यसैगरी विदेशबाट  नेपालीहरूको शव नेपाल पठाउने सन्दर्भमा पोर्चुगल लगायतका देशमा एमआरएनएको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिएको थियो । नेपालको विकाससँग जोडिनका लागि अबको नेतृत्वलाई पनि रुपान्तरण गरेर विकसित गर्नु पर्नेमा उमेदवारहरूको जोड थियो ।

प्रतिक्रिया दिनुहोस