अमेजनमा पानीको तापक्रम बढ्यो, १०० भन्दा बढी डल्फिन मृत भेटिए

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १४ : १६
अमेजनमा पानीको तापक्रम बढ्यो, १०० भन्दा बढी डल्फिन मृत भेटिए

काठमाडौं। साओ पाउलो– गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षा वनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह द मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुईवटा मृत डल्फिन फेला परेको जनाएको छ ।

उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका लागि प्रमुख क्षेत्र हो ।उक्त संस्थाले उपलब्ध गराएको भिडियोमा गिद्धहरूले मृत डल्फिनलाई टिपेको देखाइएको छ । स्थानीय सञ्चारमाध्यमअनुसार हजारौँ माछा पनि मरेका छन् ।

त्यस क्षेत्रका तालहरूमा पानीको तापक्रम उच्च रहेका कारण डल्फिन र माछाहरू मरेको हुनसक्ने विज्ञहरूले विश्वास गरेका छन् । टेफे ताल क्षेत्रम गत सातायता तापक्रम बढेर ३९ डिग्री सेल्सियससम्म पुगेको छ ।गत साता ब्राजिल सरकारको चिको मेन्डेस जैविक विविधता संरक्षण संस्थाले मृत डल्फिनको अनुसन्धान गर्न पशु चिकित्सक र जलचर स्तनधारी विज्ञहरूको टोली पठाएको थियो । 

टेफे तालमा करिब एक हजार चार सय डल्फिन रहेको मामिराउआ इन्स्टिच्युटका मिरियम मार्मोन्टेलले बताए । ‘एक हप्तामा करिब एक सय २० जीवजन्तु गुमाइसकेका छौँ जसले कूल सङ्ख्याको पाँचदेखि १० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छ,’ उनले भने ।

सुक्खा खोलाहरूबाट खोला किनारका प्रभावित समुदायहरूले गत सातादेखि डल्फिनका शवहरू फेला पारेका छन् । खडेरीका कारण अमेजनका गभर्नर विल्सन लिमाले शुक्रबार सङ्कटकाल घोषणा गरेका थिए । 

करिब ६० हजार जनसङ्ख्या रहेको टेफे सहरका मेयर निक्सन मारिराले खोलाहरू सुकेका कारण केही पृथक समुदायलाई खाद्यान्न सिधै पुर्‍याउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस