उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

सफल खबर संवाददाता

शनिबार, १३ असोज २०८०, १९ : २६
उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

वीरगन्ज। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१औँ वर्षको अवसरमा आयोजित समारोहमा उनले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताए ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको जिकिर गरे ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताए ।

“मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुव्र्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ”, मन्त्री बस्नेतले भने, “चिकित्सकमाथि दुव्र्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने दाबी गर्दै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकसँग उनले आग्रह गरे ।

वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताए ।

उनले ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले भविष्यमा नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा समेत विकास गर्न सकिने गरी काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए।

नारायणी अस्पतालको नयाँ भवन निर्माणका क्रममा परेको मुद्दालाई छिट्टोभन्दा छिटो अदालतले टुङ्गो लगाएर तत्काल निर्माणकार्य अघि बढाइने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस