आत्मनिर्भर बन्न आयआर्जनतर्फ महिला

रासस

शनिबार, १३ असोज २०८०, १४ : ०१
आत्मनिर्भर बन्न आयआर्जनतर्फ महिला

दमौली । तनहुँको भिमाद नगरपालिका-६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् ।  मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरू आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । 

महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताए। उनले भने, “घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ । यसबाट उहाँहरूले आर्थिक आम्दानी गर्न सक्नुहुनेछ ।”

भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ थियो । कोषमार्फत उद्योगका लागि रू. चार लाख सहयोग भएको छ भने लागत साझेदारीमा रू. तीन लाख ८५ हजार बेहोरिएको सचिव सुवेदीले जानकारी दिए । उनका अनुसार थप रकम समूहमा आबद्ध ३६ जना सदस्यबाट जनही रू.२३ हजारका दरले सङ्कलन गरिएको छ ।

उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिनलगायत उद्योगका लागि आवश्यक सामग्री खरिद गरिएको सचिव सुवेदीले जानकारी दिए । उनका अनुसार उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ । सुवेदीका अनुसार सुरुआती चरणमा एक किलो सर्फलाई रू. तीन सय ५०, पाँच सय ग्रामलाई रू. एक सय ७० र सात सय ग्रामलाई रू. दुई सय ७० मा बिक्री सुरु गरिएको छ । “घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौँ भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो”, उनले भने, “त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भएको छ ।”

विसं २०५३ मा स्थापित आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतीक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ ।नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताए । उनले भने, “हरेक महिलाहरू आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौँ । उद्यमी बन्न कोषबाट सहयोग गर्छौ ।”

महिलाले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नाका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । उनले भने, “भिमाद नगरपालिकाको समृद्धिका लागि महिलाहरू उद्यमशील हुनुपर्छ । उद्यमी बन्नेलाई अनुदान सहयोग गर्छौ ।”

 

प्रतिक्रिया दिनुहोस