प्रचण्डको चीन भ्रमणबारे बाबुराम भट्टराईको कठोर टिप्पणी

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, ०८ : ४४
प्रचण्डको चीन भ्रमणबारे बाबुराम भट्टराईको कठोर टिप्पणी

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गरेका छन् । 

प्रचण्डले आफ्नो चीन भ्रमण अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख भएको भट्टराईको भनाइ छ । 

‘नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ’, भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको  प्रशंसामा रमाएर बस्ने !’

नेपालले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको भट्टराईको भनाइ छ। अहिले २१ औं शताब्दिमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला नेपालले उससँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको भट्टराईको ठहर छ ।

उनले भनेका छन्, ‘त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो । कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात–पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो । तीर्थाटन त हुॅदै गर्थ्यो !’

सयौं वर्षदेखि अविकास तथाअल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरणको लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन’, भट्टराईको भनाइ छ, ‘इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु !’

बुधबार प्रधानमन्त्रीले चीनमा आयोजित एक कार्यक्रममा आफ्नो भ्रमण सोचेभन्दा पनि फलदायी भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस