भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १४ : ५०
भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

काठमाडौं। विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भादगाउँले टोपीले स्वागत गरेको छ ।नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।

 

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।

 

पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुरानो शहर आफैंमा एउटा सम्पदा शहर भएको जनाउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए । 

भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले भने, “सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको छ ।”

भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका एक जनाले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोका लागि धन्यवाद ज्ञापन गर्दै यहाँका कला कृतिहरू आफैंमा अद्वितीय रहेको तथा यहाँको पर्यटन प्रवर्द्धनमा आफ्नातर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरूको टोलीलाई मयूरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरूप प्रदान गरेका थिए ।कार्यक्रममा नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस