हामी पार्टी कब्जाको होडमा छौं, तर जनता पार्टीबाट टाढाटाढा हुँदैछन् : अर्जुन नरसिंह केसी

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, १५ : २६
हामी पार्टी कब्जाको होडमा छौं, तर जनता पार्टीबाट टाढाटाढा हुँदैछन् : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीबाट जनता टाढिँदै जान थालेको बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा सोमबार आफ्नो लिखित धारणा प्रस्तुत गर्दै उनले जनताले पार्टीको विकल्प खोजिसक्दा पनि नेताहरु भने पार्टी कब्जा गर्ने मनस्थितिमा देखिएको टिप्पणी गरेका हुन् ।

‘पार्टी कब्जाको होडमा हामी छौं; तर जनता पार्टीबाट टाढाटाढा हुँदैछन् । जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुप डेलिभर नभएको अवस्थाले ल्याएको फरकको खाली ठाउँमा आमअसन्तुष्टि र निराशा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ’ उनले भने ।

नेता केसीले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पनि शिथिलता देखिएको भन्दै यसले दण्डहीनता र जनतामा आक्रोश बढाएको पनि बताए । ‘भ्रष्टाचार छानबिनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र काठमाडौं जिल्ला अदालतका एकजना न्याायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएकोले जनस्तरमा थप आक्रोश बढाएको छ’ उनले भने, ‘सत्यतथ्य के हो, सबैले सुसूचित हुन पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस