नेपालसँग भारतीय राज्यले सिधै बिजुली व्यापारको बाटो खुल्यो

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १४ : ३८
नेपालसँग भारतीय राज्यले सिधै बिजुली व्यापारको बाटो खुल्यो

काठमाडौँ । भारतीय राज्यहरूले नेपालबाट सिधै बिजुली खरिद गर्ने बाटो खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गत साताको बुधबार नयाँ दिल्लीमा भएको एक बैठकको सम्झौतापछि भारतीय राज्यले नेपालबाट सिधै बिजुली किन्ने बाटो खुलेको हो ।

दिल्लीमा सम्पन्न १४औँ ‘ज्वाइन्ट टेक्निकल टिम’(जेटीटी)को बैठकमा भएको सम्झौताअनुसार मा नेपाल र भारतीय राज्यले बिजुली खरिद बिक्री गर्न सक्ने भएका हुन् । यसअघि, नेपालले आफ्नो आन्तरिक माग धान्न भारतको विहारबाट बिजुली खरिद गर्दै आएको थियो ।

अब भने नेपालले समेत भारतको विहार र उत्तरप्रदेश राज्यमा सिधै बिजुली बेच्न सक्ने विद्युत् प्राधिकरणका प्रबल अधिकारीले बताए । उनले नेपालको विद्युत् प्राधिकरण र भारतीय राज्यस्तरीय सचिवको हस्ताक्षरबाटै बिजुली खरिद–बिक्री गर्न सक्ने बाटो खुलेको हो ।

सम्झौताअनुसार भारतका दुई राज्यले १३२ केभी क्षमताको प्रसारणलाइनको प्रयोग गरेर बिजुली किनबेच गर्न सक्नेछन् । यी प्रसारणलाइन नेपाल र भारतबीचका स्थानीय र क्षेत्रीय बिजुली व्यापारका पूर्वाधार हुन् । यसबाहेक, बैठकबाट नेपाल र भारतले ढल्केबर–मुज्जफरपुर क्रस बोर्डर ट्रान्समिसनलाइनको बिजुली व्यापार क्षमता बढाउने सहमति समेत गरेका छन् ।

यद्यपि, नेपालबाट बिजुली किन्न चाहने राज्यले भारतको नियामकीय निकायसँग अनुमति माग्नुपर्छ । भारतको विद्युत् प्राधिकरणबाट स्वीकृति पाएपछि राज्यहरूले सिधै १३२ केभी क्षमताको प्रसारणलाइनमार्फत बिजुली खरिद–बिक्री गर्न सक्ने प्रावधान बनेको हो । यो सम्झौताबाट मुख्यतः दुई डेडिकेटेड प्रसारणलाइनमार्फत विहार र उत्तर प्रदेशमा बिजुली किनबेच हुन्छ ।

नेपाल र भारतबीच १३२ केभी क्षमताको नउतन्वा–मैनैया र कोहलपुर–नानपारा प्रसारणलाइन सम्पन्नको चरणमा छन् । यी प्रसारणलाइन ४०० केभी क्षमताको ढल्केबर– मुज्जफरपुर प्रसारणलाइनले जस्तै क्षमताअनुसारको आयात–निर्यातको काम गर्नेछन् । 

भारतको सतलज जलविद्युत निगमले यतिबेला नेपालमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको छ । यो आयोजनाबाट उत्पादित बिजुली भारत लग्न ४०० केभी क्षमताको ढल्केबर–सीतामरही प्रसारणलाइन निर्माणाधीन अवस्थामा छ । जसले २ हजार मेगावाट बिजुली बोक्ने क्षमता राख्छ ।

भारतले नेपाललाई यो प्रसारणलाइनमार्फत समेत बिजुली बिक्रीको अनुमति दिने चरणमा छ । यो प्रसारणलाइन अरुण तेस्रोसहित अन्य दुई आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि बनाइएको हो । हाल नेपाल र भारतबीच भइरहेको बिजुली खरिद बिक्री ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमार्फत बाटै मात्रै भइरहेको छ ।

दिल्लीमा सम्पन्न बैठकले यो प्रसारणलाइनको क्षमता ६०० मेगावाटबाट ८०० मेगावाट निर्धारण गरिएको छ । यसअनुसार यो प्रसारणलाइनको प्रयोगबाट नेपालले ८०० मेगावाट बिजुली किनबेच गर्न सक्छ । यसबाहेक, यतिबेला नेपाल र भारत बिजुली व्यापारका लागि अन्य व्यापार पूर्वाधार निर्माणको तयारीमा जुटेका छन् ।

दुई महिनामा साढे ५ अर्बको बिजुली बिक्री

नेपाल विद्युत् प्राधिकरणले दुई महिनामा साढे ५ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । साउन र भदौ महिनामा नेपालबाट भारततर्फ ५ अर्ब ४३ करोड रुपैयाँको बिजुली बिक्री भएको हो । साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतमा बिक्री भएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । 

साउन प्राधिकरणले औसतमा प्रतियुनिट ८।१२ रुपैयाँ र भदौमा १२।२७ रुपैयाँमा भारत बिजुली बिक्री गरेको छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ । भारतको नियामकीय निकायले नेपालबाट ६३१ मेगावाट बिजुली किन्न अनुमति दिएको छ ।