रोनाल्डोको दुई गोलमा अल–नासरको लगातार सातौँ जीत

एजेन्सी

शनिबार, ०६ असोज २०८०, ०७ : ३७
रोनाल्डोको दुई गोलमा अल–नासरको लगातार सातौँ जीत

एजेन्सी  । सात गोलको थ्रिलरमा अल–नासरले अल–अहली साउदीलाई साउदी प्रो लिग अन्तरगतको खेलमा ४–३ गोलले हराएको छ । अल–नासरको जीतमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले दुई–दुई गोल गरेका हुन् ।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा टालिस्काले टोलीको अग्रता दोब्बर बनाए । तर, ३० औँ मिनेटमा फ्रांक केइसीले गोल गर्दै अल–अहलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफको इन्जुरी समयमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गरेपछि अल–नासरले पुनः दुई गोलको अग्रता बनायो । 

दोस्रो हाफको सुरुवातमा नै अल–अहलीले पेनाल्टी पायो । रियाद महारेजले गोल गर्दै टोलीको आशा कायम राखे । यद्यपि, दुई मिनेट पछि नै रोनाल्डोले अर्को गोल थप्दै अल–नासरको अग्रता फराकिलो बनाए ।

खेलको अन्त्यतिर फेरास अलब्रिकानले गोल गरेपछि अल–अहलीका लागि केही आशा देखाएको थियो । तर त्यसपछि कुनै गोल हुन सकेन ।

सबै प्रतियोगितामा अल–नासरको यो सातौँ जीत हो । लिगको अङ्क तालिकामा ७ खेलपछि टोलीको १५ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा टोली मात्र ३ अङ्कले पछि छ । अब तीन दिनपछि टोलीले किंग्स कप ओहोडको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस