जंगली जनावरको आक्रमणबाट चितवनमा दुई महिनामा चारजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, ०९ : ४६
जंगली जनावरको आक्रमणबाट चितवनमा दुई महिनामा चारजनाको मृत्यु

चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जंगली जनावरको आक्रमणबाट चारजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुईजना, गैँडाको आक्रमणबाट एकजना र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुईजनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उजले जानकारी दिए । 

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए । 

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जानकारी दिए । यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए । 

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन् । तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भिरबाट लडेर ६८, दलदलमा परेर र बाढीले बगाएर १९, आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन् ।

यस्तै सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११, खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस