थारू समुदायले अटवारी पर्व मनाउँदै

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, ११ : ०६
थारू समुदायले अटवारी पर्व मनाउँदै

बाँके । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउँदै छन्। यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने चलन छ।

बाँकेका थारू अगुवा चन्द्र थारूका अनुसार व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग व्रतालुले खाने चलन रहेको छ।  

अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन्। अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् । यो पर्व थारू समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा रहेको थारूको भनाइ छ।

थारू समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्छन्।

व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको थारू अगुवा कृष्ण चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस