ललितपुरका दुई छात्राद्वारा आश्रमका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १६ : ३१
ललितपुरका दुई छात्राद्वारा आश्रमका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण

काठमाडौँ । ललितपुरका दुई छात्राले काठमाडौँको तारकेश्वर नगरपालिका–३ का ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् । ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यानसी शाहले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् ।

आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, नोटरी क्लब अफ नागार्जुन र नेपाल जुत्ता फ्याक्ट्रीको सहयोगमा सामग्री सङ्कलन गरिएको आचार्यले बताइन् । नमामीले आफू र साथी शाह स्कुल छुट्टीका दिन आफ्ना बाबु व्यवसायी सुदीप आचार्यसँग घुम्न आउँदा आश्रम देखेकी थिइन् ।

 

एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र उनकी साथीले आश्रममा रहेका बालबालिकालाई अङ्ग्रेजी भाषा सिकाउने गरेका छन् । सिन्धुपाल्चोक मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित आश्रममा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन् । उनीहरू स्थानीय नागार्जुन ठूलागाँउ माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत छन् । 

 

अघिल्लो शनिबार आश्रम नजिकै खुला चौरमा विद्यार्थीले कोही खाली खुट्टा र कोही चप्पल लगाएर फुटबल खेलिरहेको देखेपछि आफूले जुत्ता सङ्कलन गरेर वितरण गर्ने योजना बनाएको नमामीले सुनाइन् । ‘हामी आउँदा उनीहरू फुटबल खेलिरहेका थिए । कसैको खुट्टा खाली थियो । कोही चप्पल लगाएर खेलिरहेका’, नमामीले भनिन्, ‘कतिबेला त खाली बल हिर्काउँदा ठोक्किएर घाउ हुने रहेछ । यो देखेर मलाई यिनीहरुलाई जुत्ताको जरुरी रहेछ भन्ने लाग्यो ।’ 

नमामी र दिव्यानसीले सबैलाई एक/एक जोर गरी ४६ जोर र फुटबल खेलाडी ११ जनाका लागि छुट्टै स्पोर्टस् सुज, दुईवटा फुटबल, जर्सी र प्याड दिए । नमामीले आफूहरूले निकट भविष्यमा आश्रमका विद्यार्थीका लागि पुस्तकालय स्थापना गरिदिने योजना बनाएको पनि सुनाइन् । उनीहरूले जुत्ता, मोजा, फुटबल र जर्सी गरी करिब एक एक लाख रुपैयाँभन्दा बढीको सामग्री हस्तान्तरण गरे । 

कार्यक्रममा नमामीका पिता एवं डिस होम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप अचार्य, आमा रास्वपा नेतृ लीमा अधिकारी, नोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल, नागार्जुन ठूलागाँउ माविमा प्रधानाध्यापक अर्जुन फुयाँल, शिक्षक शिवप्रसाद फुयाँल र आश्रमका सञ्चालक राउतलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस