हेटौँडा अस्पतालका चिकित्सकसहित ७८ जनाले दिए सामूहिक राजीनामा, आकस्मिकबाहेक सबै सेवा बन्द

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, ११ : ३१
हेटौँडा अस्पतालका चिकित्सकसहित ७८ जनाले दिए सामूहिक राजीनामा, आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं। हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले सामूहिक राजीनामा दिएका छन् । बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएको हेटौँडा अस्पतालका डाक्टर हरि खड्काले जानकारी दिए ।उनका अनुसार राजीनामा दिनेमा हेटौंडा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित अन्य अस्पतालका पनि छन् ।

‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्‍यौँ । तर, पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ’, डाक्टर खड्काले भने, ‘असुरक्षामा हामीले कसरी काम गर्ने ? दोषीमाथि कारबाही नभएसम्म हामी आन्दोलन गर्छौं ।’

दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक/स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेको उनले बताए । 

 

क्रमश: देशव्यापी आन्दोलन गर्ने उनले चेतावनी दिए । 

डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो । चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस