८ बुँदे सहमतिपछि टुंगियो अखिल क्रान्तिकारीको विवाद

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, १२ : ३५
८ बुँदे सहमतिपछि टुंगियो अखिल क्रान्तिकारीको विवाद

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीभित्रको विवाद २ वर्षपछि मिलेको छ । सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए । 

‘नीतिगत सहमतिसँगै आजबाट क्रान्तिकारी भित्रको विवाद हल भएको छ । संगठनात्मक समस्याहरू हल गर्न ८ बुँदे सहमतिका आधारहरू प्रस्तुत भएका छन् । यसकै आधारमा २३ औँ सम्मेलनको तयारीमा जुट्नेछौँ’, शर्माले भने, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले ८ बुँदे नीतिगत सहमतिसँगै सङ्गठन एकताबद्ध भएको जिकिर गरिन् । सहमतिसँगै सङ्गठनभित्र  देखिएको समानान्तर गतिविधि अन्त्य हुने उनले विश्वास लिइन् ।

‘नीतिगत सहमतिसँगै हामी एकताबद्ध भएका छौँ । दुवै पक्षको सहमतिमा २३ औँ सम्मेलनको तयारीमा लाग्नेछौँ । आजबाट समानान्तर गतिविधि अन्त्य भएको छ’, अध्यक्ष सिंहले भनिन् ।  साउनमा विद्यार्थी सङ्गठनको फ्याक्सन इन्चार्ज शर्मामा नियुक्त भएपछि संगठनात्मक विवाद  हल गर्न पहल गरेका थिए । शर्माले प्रधानमन्त्रीसमक्ष विवाद हल गर्ने आधारपत्र प्रस्तुत गरेका थिए । बालुवाटारमा शर्मासहित उपसभापति पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायत क्रान्तिकारीका नेताहरू रहेका थिए ।  

क्रान्तिकारीको २१ औँ सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए ।आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक  समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस