आइतबारदेखि बीपी साहित्य महोत्सव : बाबुरामदेखि प्रदीप ज्ञवालीसम्म वक्ता, को–को सहभागी हुँदैछन् ?

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १२ : ३४
आइतबारदेखि बीपी साहित्य महोत्सव : बाबुरामदेखि प्रदीप ज्ञवालीसम्म वक्ता, को–को सहभागी हुँदैछन् ?

काठमाडौं। नेपाली कांग्रेसले संस्थापक बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा भोलि (आइतबार)देखि तीन दिने बीपी साहित्य महोत्सव गर्दैछ । केन्द्रीय कार्यालय सानेपामा तीन दिन कांग्रेसले महोत्सव गर्न लागेको हो ।सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको मूल तयारी समितिले तीन दिने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

जसमा बीपीका राजनीति, कूटनीति, साहित्यसहितका विषयमा विभिन्न प्रस्तुति र छलफलका कार्यक्रम हुनेछन् ।कांग्रेसले गर्न लागेको बीपी महोत्सव कार्यक्रममा डा. बाबुराम भट्टराईदेखि एमालेका प्रदीप ज्ञवालीसम्म वक्ताका रूपमा रहने भएका छन् । महोत्सवमा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कवि, इतिहासविद् अर्थशास्त्री, राजनीतिक विश्लेषक र पत्रकारहरूसमेत विभिन्न सेसनका कार्यक्रममा सहभागी हुने भएका छन् ।

आइतबार जगत नेपालको हाइज्याकिङ फर डेमोक्रेसी वृत्तचित्र प्रस्तुतिपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नेछन् ।पहिलो दिनको कार्यक्रममा ६ वटा सेसनहरू चल्नेछन् । बीपीको साहित्य सिर्जना र जीवन दर्शनको वक्ता अभि सुवेदी हुनेछन् । ‘बीपीका दृष्टिमा बीपी’ बहसमा सिकेलाल, कृष्ण खनाल र भुवन ढुंगाना वक्ता हुनेछन् । 

त्यस्तै पहिलो दिनका अन्य कार्यक्रममा बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको  मातृभाषा साहित्य र कविता साँझ हुनेछ । २५ गते दोस्रो दिन ७ वटा सेसन चल्नेछन् । जसमा वीर गणेशमान चलचित्र, मार्क्स, गान्धी र बीपी अनि आजको समाजवाद, बीपीले नपाएका १५ वर्ष, बीपीको आख्यानमा मधेसजस्ता कार्यक्रम चल्नेछन् । 

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी कार्यक्रमका वक्तामा डा. बाबुराम भट्टराई, नारायण खड्का, प्रदीप ज्ञवाली र इन्द्र अधिकारी वक्ता हुनेछन् । युव स्रष्टामा बीपी पठनमा कार्यक्रममा बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतिक्षा र सुविन भट्टराई वक्ता हुनेछन् । यो दिनको अन्तिम कार्यक्रममा ३० जना गजलकारले प्रस्तुति दिनेछन् । 

२६ गतेको अन्तिम कार्यक्रममा ८ वटा सेसन चल्नेछन् । बीपीको तीन घुम्ती चलचित्र देखाएर शुरू हुने कार्यक्रम कुटुम्ब ब्याण्डको सांगितिक साँझबाट अन्त्य हुनेछ । तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्ट्रन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीजस्ता कार्यक्रम हुनेछन् । यो अन्तिम कार्यक्रममा शेखर, सुजाता र शशांक एउटै मञ्चमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस