जर्मन र कोरियामा रोजगारीको सूचना प्रकाशित गरी युवालाई ठगी

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १२ : ४५
जर्मन र कोरियामा रोजगारीको सूचना प्रकाशित गरी युवालाई ठगी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको नाम राखेर जर्मन र कोरियामा रोजगारीको सूचना प्रकाशित गरी युवालाई ठगी गरिएको छ । विभागले अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल र जर्मनी सरकारबीच श्रम सम्झौता भएको जनाउँदै विभागको लेटर हेड प्रयोग गरी विभिन्न सेवासुविधासहित आकर्षक तलबसम्बन्धी सूचना प्रकाशन गरेको जनाएको छ ।

विभागले जारी गर्ने सूचनाजस्तै गरी जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सूचना प्रकाशित गरिएको छ । विभागका निर्देशक कविराज उप्रेतीले सामाजिक सञ्जालमा जर्मनीमा नेपाली युवाका मागसम्बन्धी भ्रमपूर्ण सूचना प्रकाशित गरी ठगी गर्ने प्रयास भएको बताए । यसैगरी श्रम मन्त्रालयको लेटर हेड राखेर प्रवक्ता तथा सहसचिवको हस्ताक्षर राखी मौसमी कामदार सम्बन्धमा प्रेस विज्ञप्ति नै प्रकाशित गरिएको छ ।

मन्त्रालयबाट जारी गरेको भन्दै मन्त्रालयको लेटर हेड नै प्रयोग गरी कोरियामा मौसमी कामदार पठाउने सूचना प्रकाशित गरिएको छ । विज्ञप्तिमा प्रवक्ता डण्डुराज घिमिरेको नक्कली हस्ताक्षर गरी भ्रामक सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस