निजामती सेवासम्बन्धी विधेयक चाँडै संसद्‌बाट पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, ११ : ४४
निजामती सेवासम्बन्धी विधेयक चाँडै संसद्‌बाट पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक संसद्‌बाट चाँडै पारित गर्ने बताएका छन् ।२० औं निजामती सेवा दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले बिहीवारमात्र मन्त्रिपरिषद्‌ले विधेयक संसद्‌मा पठाउने निर्णय गरेको जानकारी दिए ।

राजनीतिक दलहरूको सहमतिबाट संसद्‌ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने प्रधानमन्त्रीको विश्वास छ ।मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

“देशका ठूला राजनीतिक परिवर्तनमा तपाईँ निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ, त्यसका निम्ति तपाईँहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ ।” प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया दिनुहोस