निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन: कानूनमन्त्री गुरुङ

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १६ : २८
निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन: कानूनमन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । 

 

उनले सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि आग्रह गरे ।मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले भने, ‘विचौलिय हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो । सधैँ मन्त्री भइन्छ भन्ने होइन । सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन । बिचौलियाकै विरुद्ध लडेर यहाँसम्म आएको छु ।

सामन्तवादकै विरुद्धमा लडेर यहाँसम्म आएको छु । तर आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा बिचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि ? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ । म खुला पाना हुँ, पढे हुन्छ ।’मन्त्री गुरुङले आफू जिन्दगीभर बिचौलिया विरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरूलाई अनुरोध गरे । 

प्रतिक्रिया दिनुहोस