चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेट्यो

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, ११ : ०६
चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेट्यो

नयाँ दिल्ली । चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई 'स्टान्डर्ड म्याप' भएको छ । नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ।

 

अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’

 

ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ । उता भारतले पश्चिम अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले अवैध रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस