अभिनेता सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १३ : १८
अभिनेता सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो ।

आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।

ताम्राकारको पार्थिव शरिरमा कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका कलाकार आर्यघाटमा उपस्थित थिए । यस्तै कलाकारहरु धीरेन शाक्य, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायत पनि आर्यघाट पुगेका थिए ।

ताम्राकारको निधन ७४ वर्षको उमेरमा शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग समेत खेपेका थिए ।

प्रतिक्रिया दिनुहोस