केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ : मेयर दाहाल

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १३ : ४१
केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ : मेयर दाहाल

चितवन । भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने  भरतपुर महानगर प्रमुख रेनु दाहालले बताएकी छन  । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिईन् ।

बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले बताईन् । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरिन्।

बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाईको कामलाई एक साथ अगाडि बढाईएको जानकारी दिईन् । नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उनको भनाई छ ।

जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि राखिन् । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विका संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन् ।

विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिनुभयो । संस्थाले ३० कठ्ठामा फुल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस