झाडीमा फालेको अवस्थामा नवजात शिशु फेला

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, २१ : ४३
झाडीमा फालेको अवस्थामा नवजात शिशु फेला

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोही नगरपालिका-४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो।

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिए। झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ। नवजात शिशु बालक रहेको उनले बताए।

नवजात शिशु कसले फालेको हो, भन्नेबारेमा जानकारी प्रहरीले लिइरहेको छ। नवजात शिशुलाई झाडीमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस