पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गर्यो : अध्यक्ष लिङ्देन

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १६ : ४६
पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गर्यो : अध्यक्ष लिङ्देन

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् । 

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए।

सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर डंका पिटेको अध्यक्ष लिङ्देनले बताए । सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने उनको भनाइ छ । ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको समेत उनले बताए ।

'आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ,' लिङ्देनले भने, 'आज भ्रष्टाचार कुन ढंगले बढेर गइरहेको छ । आज महँगी कुन ढंगले बढिरहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढंगले बढिरहेको छ ? तपाईं कल्पना गर्नुहोस् । यही स्थिति छोडिरहने हो भने ०८४ को चुनाव आउला ?'

सरकारले तल्लो तहका कर्मचारीलाई थुनेर भ्रष्टाचारविरुद्ध ठूलो काम भयो भनेर डंका पिटेको पनि अध्यक्ष लिङ्देनले बताए । 'केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काम गर्न लाग्यो कि के हो भनेर । आज आदेशअनुसार काम गर्ने ? आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन । अदालतले अस्ति भर्खर आदेश दियो । त्यो आदेश तामेल गर्ने, पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर् भनेको छ । खै सरकार ?,' उनले प्रश्न गरे ।