काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले चन्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ ।सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चन्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भिड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
यस वर्ष भदौ १४ गतेसम्म चन्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ ।यसबीचमा भदौ ४ र ११ गते गरी दुई दिन सोमवार परेको छ । दुबै सोमवार महाशिवरात्रि र तीज पर्वकै जस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । अधिकमास परेकाले सौरमासअनुसार साउन महिनामा सोमवारको व्रत गर्ने, नगर्ने भन्नेमा धर्मशास्त्रीबीच नै मतान्तर भएको थियो ।
प्रत्येक वर्ष साउन महिनाको सोमवार गरिने व्रत नित्य भएकाले अधिकमास परे पनि व्रत गर्नु हुने तर्क एकथरी धर्मशास्त्रीको थियो ।अर्काथरी धर्मशास्त्रीले अधिकमासका बेलामा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले साउने सोमवारको व्रत गर्न नहुने तर्क गरेका थिए । मतान्तरबीच सौरमासअनुसार साउन महिना सकिए पनि श्रावण शुक्ल पक्षभर पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १२ : ४४
लेखकबाट थप