सुन तस्करी ‘र्‍याकेट’लाई जराबाट उखेल्न उच्चस्तरीय आयोग :विष्णु रिमाल

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १२ : ३८
सुन तस्करी ‘र्‍याकेट’लाई जराबाट उखेल्न उच्चस्तरीय आयोग :विष्णु रिमाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले  ‘गोल्ड स्मग्लिङ (सुन तस्करी) र्‍याकेटिङ’लाई जराबाट उखेल्न उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने बताएका छन् ।सत्तापक्ष र प्रतिपक्षबीच तस्करीको सुनबारे छानबिनका लागि आयोग बनाउने कि नबनाउने भन्नेमा विवाद रहेका बेला रिमाललले सामाजिक सञ्जालमा भनेका छन्,। 

‘हाम्रो माग यति मात्र हो कि यो गोल्ड स्मग्लिङ र्‍याकेटिङलाई जराबाट नै अन्त्य गर्नको लागि उच्चस्तरीय समितिको आवश्यकता छ । कुनै टालटुले कारबाही र ढाकछोप गरेर उम्किन खोज्ने वा वास्तविक अपराधीलाई उक्काउने होइन ।’उनले नेपालको भूमि र एयरपोर्ट प्रयोग भई सुनको गैरकानुनी ओसारपसार भइरहेको प्रारम्भिक रिपोर्ट अनुसार प्रस्ट भएको दाबी समेत गरेका छन् । 

‘केही रिपोर्टहरूका अनुसार बर्सेनि क्विन्टलमा नभएर टनमै वार्षिक रूपमा सुन तस्करी भएको देखिन्छ । अन्तर्राष्ट्रिय कालाबजारीहरु नै यस्तो कारोबारमा संलग्न छन्।  भन्ने देखिन्छ। जब दुवै छिमेकी देशको भूमि प्रयोग गरेर टनका टन सुन एउटा देशबाट अर्को देशमा पठाइन्छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृतिको अपराधका रूपमा लिनै पर्छ’, रिमालले भनेका छन्, ‘नत्र यसले देशको छवि र विश्वसनीयतामा अन्तर्राष्ट्रिय रूपमा ठुलो प्रश्न उठ्छ ।’ 

उनले  पछिल्लो समय राज्यको वैधानिक राजश्व किन उठिरहेको छैन भन्ने कुरा पनि सुन तस्करी प्रकरणसाग जोडिएको बताएका छन् ।‘अवैध कारोबार हुने भएपछि राज्यको वैधानिक राजश्व र भन्सार घट्नु स्वाभाविक हो । त्यसैले यो देशलाई समाप्त पार्ने डरलाग्दो अपराध हो ।

यस्तो कुरा पक्कै पनि माथिल्लो तहको संलग्नता बिना साधारण कर्मचारी वा भरिया ड्राइभरबाट सम्भव छैन’, उनले भनेका छन्, ‘विभिन्न छापाहरूमा सीआईबीको हवाला दिँदै समाचारहरूमा कल डिटेल्सका रिपोर्टहरू प्रस्ट आएका छन् । तर, सरकार यसलाई ढाकछोप गर्न विषयलाई अन्यत्र मोड्न खोजिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस