ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बन्ने

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, २१ : ३६
ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बन्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्याहरु समाधानका लागि संयुक्त कार्यदल बनाएर समस्याको समाधान गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पोषराज पोखरेलले बताएका छन् । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्याहरु समाधानका लागि लागि कार्यदल बनाउने प्रस्ताव डिआइजी पोखरेलले गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिहरुको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको त्यसपछि समस्याहरु झन थपिएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महिना अघि काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्हालेका पोखरेलसंग भेटगरी समस्या सुल्झाउन आग्रह गरेका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अधिकतम जरिवाना रकम असुल गरिरहेको, पार्किङ व्यवस्थापन गर्न नसकेको, पिक एण्ड ड्रपको व्यवस्थापन नगरेको, कारबाहीका क्रममा नियन्त्रणमा लिएका कागजपत्र संगठन र व्यवसायी प्रालिहरुलाई नदिएको, घर, ग्यारेज, विवाह ब्रतबन्धमा गएका सवारीसाधनलाई रुटपरमिट नकाटेको भन्दै जरिवाना गरेको, सवारीसाधनको अगाडीको बम्फर नहटाएको भनि कारबाही गरिएको, ट्राफिक प्रहरीहरुको व्यवहार र कार्यशैलीमा कुनै सुधार नआएको जस्ता समस्याहरु सुल्झाउन आफुहरुले डिआइजी पोखरेलसंग आग्रह गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

डिआइजी पोखरेलले आफु यातायात मजदुर र व्यवसायीहरुको समस्याको बारेमा जानकार रहेको बताउँदै समस्याको समाधान गरिने प्रतिवद्धता व्यक्त गरेकाछन् । उपत्यकाको पिक एण्ड ड्रप, पार्किङ, ट्राफिक संकेत, चिन्हहरु व्यवस्थाका लागि सबैसंग सहकार्य गर्ने बताए । अब चाँडै अर्को बैठक बसेर डिआइजी पोखरेलले भने झै कार्यदल गठन पछि समस्याहरुको साझा समाधानमा सक्रियतापूर्वक लाग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

प्रतिक्रिया दिनुहोस