क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने कांग्रेस संसदीय दलको निर्णय

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, १५ : ०२
क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निर्णय गरेको छ । उच्चस्तरीय छानबिन समिति गठनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि कांग्रेस संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।

३ दिनसम्म बसेको संसदीय दल बैठकको निचोड सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

उनले भने‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।

साथै उनले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्ने दलको बैठकको अर्को निचोड रहेको बताए । उपभोग्य सामानको मूल्यवृद्धि, कालाबजारी नियन्त्रण, बाढीपहिरो, डुबान र लम्पीस्किन, डेंगु, आँखा पाक्ने रोगजस्ता विषयमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

संसद खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षसँग संवादको अग्रसरता लिएर सदन खुलाउन पहल थाल्ने निर्णय भएको पनि प्रमुख सचेतक लेखकले बताए । 
 

प्रतिक्रिया दिनुहोस