भक्तपुर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सङ्गठनमा उथलपुथल हुने खुलासा गरेका छन्। माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने उनले खुलासा गरेका हुन् ।
शनिबार पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता शर्माले भने, ” मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ ।” पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।
कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने नेता शर्माले जानकारी गराएका छन् । त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने समेत उनले बताएका छन् ।
तत्कालीन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्कारुपले हेर्न नहुनेमा जोड दिए । उनले व्यवस्था बदल्न हज्जारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे । नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले दाबी गरेका छन् ।
वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका पार्टीका प्रदेश इन्चार्ज शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको जानकारी गराए । ”अब अवैधानिक बाटो हिँड्नुपर्दैन, वैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ ।” उनले भने ।
शर्माले आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र सम्वृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरेपनि त्यसलाई प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टी विरोधीहरूले फैलाएका भ्रम र अफवाहहरूको प्रतिरोध गर्न उनले निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलीप प्रजापति भीष्म, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य डिपी ढकाल त्यसैगरी केन्द्रीय सदस्यद्वय प्रतिमा श्रेष्ठ र इन्दिरा अधिकारी एवं प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल बासुले समसामयिक राजनीतिक प्रशिक्षण दिएको पार्टीका मध्यपुर थिमि नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताए ।
सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा पैँतालिस सदस्यीय कार्यसमिति निर्वाचित भएको वाइसिएलको भक्तपुर जिल्ला इन्चार्ज नरेश रञ्जितले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा